Main Menu

दुई मृत्यु

(अलेकसान्द्र सेराफिमोभिच (सन् १८६३–१९४९) एकजना प्रशिद्ध रुसी लेखक हुन् । ‘लौह प्रवाह’ नामको चर्चित उपन्यासका लेखक हुन् उनी । यहाँ उनको चर्चित कथा ‘दुई मृत्यु’ प्रस्तुत गरिएको छ । यो कथामा रुसमा सन् १९१७ मा भएको महान क्रान्तिताका क्रान्तिकारी काममा भाग लिने एउटी युवतीको बयान गरिएको छ । रुसी क्रान्ति न्याय र समानताको लागि भएको ठूलो अभियान थियो । ती युवतीले यो अभियानलाई प्राणभन्दा पनि ठूलो महत्व दिएकी छिन्। – सम्पादक ।)

  • अलेकसान्द्र सेराफिमोभिच

two-deaths-alessandra-serafimovicमास्को सोभियतको कार्यालयमा कैला आँखा भएकी एक युवती आई । उसले रुमालले कपाल छोपिराखेकी थिई ।

अक्टोबर महिनाको आकाश भयावह थियो । चिसा र भिजेका छानाहरुमा धुवाँ निस्कने चिमनीहरुको बीचमा युन्केरहरु (क्रान्तिपूर्वको रुसका सामरिक प्रशिक्षार्थीहरु) घिस्रँदै थिए र सोभेत्स्काया प्लोश्चादमा देखापर्ने असावधान मान्छेहरुउपर गोलीको पर्रा छोड्दै थिए ।

“के म क्रान्तिको लागि कुनै प्रकारले उपयोगी हुन नसकुँला ?” –युवतीले भनी । –“युन्केरहरुबारे तपाईंहरुको स्टाफमा म सूचना ल्याउन चाहन्छु । खालि नर्समात्र बनेर त म कामै गर्न सक्तिनँ । फेरि नर्सहरुको तपाईंहरुकहाँ कमी पनि त छैन । हुन त म लडाइँ पनि गर्न सक्तिनँ । कहिल्यै बन्दूक हातमा लिनुपरेको थिएन । तैपनि तपाईंहरुबाट प्रवेशपत्र पाइयो भने म सूचनाहरु बटुलेर ल्याइदिनसक्छु ।”

कमरमा रिभल्भर भिर्ने एक कामरेड एकटक लगाएर युवतीतर्फ हेरिरहेको थियो । उसले लगाइराखेको छालाको ज्याकेटमा ठाउँ–ठाउँमा तेलका दागहरु देखिन्थे । सुकेनासको रोग र अनिंदा रातले गर्दा उसको मुहार रगत नभएको फुस्रो देखिन्थ्यो ।

“धोका दिइयो भने गोलीले उडाइदिऔंला ! थाहा छ तपाईंलाई ?” –अन्त्यमा उसले भन्यो । – “भेद खुल्यो भने त्यहाँ पनि उनीहरुले गोलीले भुटिदिनेछन् । धोका हुन गयो भने हामी पनि यहाँ गोलीको कञ्जुसी कदापि गर्ने छैनौं !”

“मलाई थाहा छ !”

“के तपाईंले सबै कुराको राम्ररी सोचविचार गर्नुभएको छ त ?”

युवतीले टाउकोमा बाँधिएको रुमाल मिलाउँदै भनी, “सबै पहरा–चौकीहरुमा बिनारोकटोक जान पाउने प्रवेशपत्रको साथै मलाई यस्तो एउटा परिचयपत्र पनि बनाइदिनोस्, जसमा म एक अफिसरकी छोरी हुँ भन्ने बेहोरा परोस् !”

युवतीलाई अर्कै कोठामा पठाइयो र दैलोनेर चपटे राखियो ।

झ्यालबाहिर चोकमा फेरि गोलीको पर्रा छुट्यो । युन्केरको कवचित मोटर गुड्दै आयो र एकाएक गोलीको पर्रा छोडेर हिंडिहाल्यो ।

“खै, को होली त्यो ? जाँचबुझ त गरियो नाइँ ! तर के भर र ? विश्वासघात नगरिएला भन्ने कुनै यकिन त छैन । जेहोस्, प्रवेशपत्र दिनैपर्ला ! हाम्रो विषयमा उसले त्यहाँ के नै बताउन सक्ली र ?” – क्षयरोगीको जस्तो ख्याउटे अनुहार भएको एक कामरेडले भन्यो ।

युवतीलाई नक्कली प्रमाणपत्रहरु सुम्पियो । नाकाबन्दीहरुमा रहेका पहरा चौकीहरुमा लाल सैनिकहरुलाई प्रवेशपत्र देखाउँदै ऊ आर्वातस्थित आलेक्सान्द्रोभ्स्की प्रशिक्षालयतर्फ लागी ।

ज्नामेन्कानेर पुगेपछि उसले रातो प्रवेशपत्र (लालसेनाले दिएको निशानी) लुकाई । उसको वरिपरि युन्केरहरु झुम्मिए र उसलाई प्रशिक्षालयको ड्युटीमा रहेको अफिसरकहाँ पुर्याइयो ।

“म नर्स बनेर काम गर्न चाहन्छु । जर्मनीको धावामा मेरा पिताजीको मृत्यु त्यतिखेर भयो, जब साम्सोनोभ (प्रथम विश्वयुद्धमा प्रुसियाको लडाइँमा हार्ने एक जर्नेल) पछि हट्दै थियो । अनि दुई दाजुहरु चाहिँ दोनक्षेत्रमा काजाक फौजमा छन् । म यहाँ सानी बहिनीको साथमा छु ।”

“ठीक छ ! ज्यादै राम्रो हो ! हाम्रो लागि यो खुशीको कुरा हो । महान रुसको खातिर आफ्नो कठिन संघर्षमा हरेक सच्चा देशभक्तप्रति उदात्त सहयोगको लागि आभारी हुनेछौं । त्यसमा पनि तपाईं त अझ एक अफिसरकी सुपुत्री हुनुहुन्छ । कृपया, भित्र पाल्नोस् !”

युवतीलाई अतिथि कक्षमा निम्त्याइयो र चियापानद्वारा स्वागत गरियो ।

ड्युटीमा रहेको अफिसरले आफ्नोसामुन्ने उभिएको एक युन्केरलाई अह्रायो, “ल, स्तेपानोभ ! मजदूरको पोशाक लगाऊ ! पोक्रोभ्कासम्म जानुपर्ला तिमीले ! ठेगाना यहाँ छ । हामीकहाँ आएकी यस केटीको बारेमा यथार्थ बुझेर आऊ !”

स्तेपानोभ गयो । उसले भर्खरै मारिएको एक मजदूरको ओभरकोट लगायो । त्यस ओभरकोटको कलरनेरै प्वाल परेको थियो र त्यसमा रगतको दाग पनि आलै थियो । त्यसै मजदूरको पाइण्ट र थोत्रो बूट पनि लगाएर उसले टाउकोमा छत्तेटोपी पनि ढल्कायो र ऊ साँझपख पोक्रोभ्कातर्फ रबाना भयो ।

त्यहाँ कुनै खैरो कपाल भएको झुत्रे नागरिकले अनौठो किसिमले आँखा झिम्क्याउँदै उनलाई भन्यो, “हो, दोस्रो नम्बरको कोठामा एउटी नखरमाउली बसेकी छे । एउटा सानी बहिनी पनि छे उससँगै । बुर्जुवा छोकडी होली कुनै !”

“अहिले कहाँ छिन् उनी ?”

“खै, एकाबिहानदेखि नै देखापरेकी छैन । गिरफ्तार पो भैसकी कि क्या ! जे भए पनि स्टाफ–कप्तानकी छोरी न ठहरी । अँ, तिमीलाई किन चाहियो नि ?”

“उनकी नोकर्नी हाम्रै गाउँकी हो । म उसैलाई भेट्न चाहन्छु । लौ त जाऊँ है !”

राति आ–आफ्नो चौकीबाट फर्केर आएका युन्केरहरु खूब जिज्ञासा देखाउँदै कैलो आँखा भएकी युवतीको वरिपरि झुम्मिन आइपुगे । केक र चक्लेट पनि मगाइयो । एकजना युन्केर पेनोबाजा बजाउन लाग्यो, अर्कोले चाहिँ एउटा घुँडा खुम्च्याएर उभिंदै मुसुमुसु हाँसेर फूलको गुच्छा उपहार टक्य्रायो ।

“गँवारहरुको त्यस जमातलाई चकनाचूर पारिछाड्नैछौै । आज पनि उनीहरुलाई हामीले खूब मजा चखायौं । भोलि राति स्मोलेन्स्क बजारतिरबाट यसरी पेलेर लग्नेछौं कि उनीहरुको प्वाँख पनि बाँधी रहने छैन ।”

भोलिपल्ट बिहानै युवतीलाई फौजीलाई अस्पतालमा पट्टी बाँध्ने काममा नियुक्त गरियो ।

सेतो भित्ताको हाराहारी हिंड्दै जाँदा आँखासामुन्ने यस्तो दृश्य पर्यो : भित्तानेरै गुलाफी छिटको कमीज लगाइराख्ने एक मजदूर घोसेमुन्टो लगाएर भुइँमा पल्टिरहेको थियो । उसका बूटहरु हिलोमा गाडिएका थिए, जसका तलुवाहरु छियाछिया पारिएका थिए । अनि उसको देब्रे आँखानेर एउटा कालो प्वाल देखिन्थ्यो ।

“जासूस हो ! पक्राउमा पर्यो !” –युन्केरले त्यसतर्फ हेर्दै नहेरी फटाफट पाइला सार्दै भन्यो ।

युवतीले फौजी अस्पतालमा दिनभरि स्फूर्तिसाथ काम गरी । घाइतेहरु कृतज्ञतापूर्वक उसका गाढा कैला रंगका उदास आँखाहरुतर्फ पुलुक्क हेर्थे ।

“धन्यवाद, बहिनी !”

दोस्रो रात युवतीले डेरामा फर्कने चाहना व्यक्त गरी ।

“यसबेला कहाँ जाने ? बेलाखबत राम्रो छैन । हरेक कुनामा पहरा छ र हाम्रो इलाका पार हुनासाथै गँवारहरुले पक्रिहाल्नेछन् । अझ केही बोल्दा पनि नबोलेर गोली चलाइहाल्न बेर छैन ।”

“म उनीहरुलाई निस्सा देखाउँला । फौजी मान्छे थोरै हुँ र म ? डेरामा नगई त हुँदैहुँदैन । त्यहाँ सानी बहिनी अलपत्र परेकी होली । ऊ एक्लै छे । के भयो होला उसलाई ? उसको सम्झना हुँदा मुटु नै च्वास्स दुःख्छ !”

“हो त नि ! सानी बहिनी ! कुरा त मनमासिबै हो ! तर एक्लै त तपाईंलाई कसरी जान दिने ? बरु दुईजना युन्केर साथमा लानोस् ! उनीहरुले पुर्याइदिनेछन् !”

“अहँ ! हुँदैन ! नाइँ !…” – युवतीले डराएर हात तन्काई । – “म एक्लै जान्छु, कसैले पुर्याउनुपर्दैन ।… मलाई कुनै कुराको डर छैन !”

अफिसरले गौड गरेर हेर्यो ।

“अँ !… के गर्ने खै ? ल, जानोस् उसो भए !” – उसले भन्यो ।

“गुलाफी कमीज र आँखानेर कालो प्वाल.. घोसेमुन्टो । …”

युवती फाटकबाट बाहिर निस्कनेबित्तिकै चूक घोप्ट्याएको जस्तो अन्धाकारमा विलीन भइहाली । त्यहाँ चकमन्न थियो, कुनै प्रकारको पनि आवाज आइरहेको थिएन ।

प्रशिक्षालयबाट सरासर केही छड्के हानिएर युवती आर्बातचोक हुँदै सिधै आर्बात ढोकातर्फ लम्की । अन्धकारको एक सानो आयतन पनि उसैको साथ लागेर घिस्रिरहेको थियो, जसभित्र ऊ आफ्नो जीउमात्र ठम्याउन सक्थी । त्यसबाहेक अरु सबैतिर निस्पट्ट अँध्यारो छाएको थियो । यस्तो लाग्थ्यो, मानौं पृथ्वीतलमा ऊ एउटैको मात्र अस्तित्व होस् !

उसमा डरत्रास त रत्तिभर पनि छँदै थिएन । उभित्र भने सबै कुरा भकभक उम्लिरहेको प्रतीत हुन्थ्यो ।

बाल्यावस्थामा ऊ प्रायः त्यतिखेर बुवाको कोठामा पस्ने गर्थी, जतिखेर बुवा कतै बाहिरतिर गएका हुन्थे । ऊ घुँडा मारेर पलङमा बस्थी, पलङमाथि गलैंचामा राखिएको गितार हातमा लिन्थी र तार बजाउँदै मेख कस्दै जान्थी । अनि झन् मसीनो, झन् उराठलाग्दो र झन् अहसनीय झन्कार सुनिन्थ्यो । त्यो स्वर यति मसिनो हुन्थ्यो कि त्यसले मुटुमा च्वास्सच्वास्स घोच्ने गर्थ्यो र कम्प छुटाउँथ्यो । ट्रिङ्ग… ट्रिङ्ग… ट्रिङ्ग… । मानौं तार नै चुँडिएलाजस्तो हुन्थ्यो ।… आङ जिरिङ्ग भएर आउँथ्यो । निधारभरि चिट्चिट् पसिना निस्कन्थ्यो ।… यसले आश्चर्यचकित तुल्याउँथ्यो र अतुलनीय आनन्द पनि प्रदान गर्थ्यो ।

अन्धकारमा युवती यसरी नै हिंडिरहेकी थिई । उसलाई कुनै किसिमको डर थिएन । मसीनो सुर चढ्दै गइरहेको थियो– ट्रिङ्ग… ट्रिङ्ग… ट्रिङ्ग… । आफ्नो कालो आकृति पनि ऊ मुश्किलले मात्र ठम्याउन सक्थी ।

एकाएक उसले हात फैलाई । अगिल्तिर घरको भित्ता खडा थियो । अप्रत्यासित भयले गर्दा सम्पूर्ण शरीर नै फतक्क गलेको उसलाई अनुभव भयो र बाल्यावस्थामा जस्तै चिट्चिट् पसिना निस्क्यो । जुन ठाउँमा उद्यानपथमा पस्ने ढोका हुनुपर्ने थियो, त्यहाँनेर त घरको भित्ता पो फेला पर्यो । मतलब, उसले बाटो बिराई । तर ऊ अत्तिनुपर्ने केही छैन– छिटै नै सही बाटो पहिल्याइनेछ । अतिरिक्त भयले गर्दा दाँतसमेत अनायास बज्न थालिसकेका थिए । कसैले गिज्याउँदै खासखुस गरिरहेझैँ लाग्यो उसलाई ।

“इतिश्रीको श्रीगणेश भनेको यही त हो ?… के थाहा छैन र ?… मात्र बाटो बिरिएको भन्ठानेकी हौली तिमीले । तर यो त इति … ।”

युवतीले खूब बल लगाएर समस्या सुल्झाउन थाली – दायाँतिर ज्यामेन्का, बायाँतिर उद्यानपथ… सके उसले बीचको बाटो सामातेकी होली ! अनि हात फैलाउँदा एउटा लठ्ठा भेट्टियो । टेलिग्रामको लठ्ठा ?… मुटुको ढुकढुक बढ्दै गयो । घुँडाले टेकेर ऊ भूँईतर्फ झुकी र हातले छामछामछुमुछुम गर्न थाली । चीसो र भिजेको फलाममा औंलाहरुले स्पर्श गरे ।… फलामे बार… उद्यानपथ !… मनको गहुँगो भारी तत्कालै हलुका भयो । ऊ विस्तारै उभिई र.. थर्रर कामी । चारैतिर सारा कुरा चल्मलायो – कहिले अस्पष्ट र धमिलो हुँदै बिलाउँथ्यो त कहिले फेरि एकाएक देखापथ्यो । के घर, के भित्ता, के रुख– सबै कुरा चल्मलाइरहेका थिए । बिजुलीका लठ्ठा र ट्रामगाडीका लीगसमेत चल्मलाइरहेका प्रतीत हुन्थे – त्यस रक्तरञ्जित अन्धकारमा रक्तिम अस्पष्ट आभा पनि चल्मलाइरहेको थियो । निकै तलसम्म झरिरहेका बालदका ढीकाहरु पनि रातो आभा छर्दै मडराइरहेका थिए ।

ऊ त्यतैतिर लम्किरहेकी थिई, जताबाट यस्तो मौन तरङ्ग लहराइरहेको थियो । ऊ निकित्स्किये भरोतातर्फ जाँदैथिई । अचम्म ! कसैले पनि अहिलेसम्म उसलाई किन नरोकेको होला ? उसलाई कसैले पनि किन नडाकेको होला ? थाहा भएकै कुरा हो, सडकको हरेक कुनामा, हरेक ढोकामा र घरको हरेक फाटकमा समेत पहरा राखिएको छ र उसउपर कडा निगरानी रहेको छ । सबैको आँखाको तारो बनेर ऊ अगाडि लम्किरहेकी छे र रक्तरञ्जित तरङ्गले उसलाई लपेटिराखेको छ, अनि त्यसै लहरको माझमा ऊ पाइला सार्दैछे ।

एक हातमा स्वेत प्रहरीको प्रवेशपत्र र अर्को हातमा चाहिँ लाल प्रहरीको प्रवशपत्र च्यापेर ऊ निश्चिन्त हिंडिरहेकी छे । जसले सोधपूछ गर्नेछ, उसलाई त्यसै किसिमको निस्सा देखाइनेछ । चारैतिर उराठिलो तर अविरल रक्तिम मौन तरङ्गसिवाय अरु केही देखिंदैन । निकित्स्किये भरोतानेर आगोको भयङ्कर ज्वाला उर्लिरहेको थियो । तलसम्म झरेका घना बादललाई छेड्दै क्रूद्ध लप्काहरु चल्मलाइरहेका थिए । बादलहरुको लालिमाभित्र धूवाँको रातो मुस्लो उर्लिरहेको थियो । आँखा नै तिर्मिराउने चमकले गर्दा ठूलो घर सिङ्गै झकमक्क भइरहेको थियो । यस्तो तम्त्माउँदो चमकमा सारा कुरा चल्मलाएर बादलभित्र हुर्रिदै घुसिरहेको थियो । खालि घरका भित्ता, सत्तरी र खम्बाहरु मात्र कालो अस्थिपञ्जरजस्तै निश्चल देखिन्थे । दोहरी झ्यालहरु पनि त्यसरी नै झल्मलाएर प्रज्ज्वलित भइरहेका थिए ।

लामो पूच्छर हुने रातो चराका भुवाझैं झिल्काहरु बालदतर्फ उडिरहेका थिए । चारैतिर अविरल ह्वारह्र्वार र पट्पट्को आवाज व्याप्त थियो ।

युवती अर्को दिशातिर मोडिई । शहर महान्धकारमा डुबिरहेको थियो । असंख्य घर, चर्च, चोक, उद्यानपथ, थिएटर, रण्डीकोठीहरु भएको शहर विलुप्त भयो । खालि महान्धकार मात्र छाएको थियो ।

त्यस अनन्ततामा केवल मौनता व्याप्त थियो भने मौनतामा चाहिँ रहस्य लुकेको थियो – मानौं, कुनै यस्तो कुरा घट्नै आँटेको होस्, जसको वर्णन शब्दद्वारा गर्न सकिँदैन होला । जेहोस्, मौनता व्याप्त थियो र त्यस मौनताले प्रतीक्षाको अपेक्षा राख्तथ्यो । युवती भयले उकुसमुकुस भई ।

अहसनीय रापको एक झोक्का चल्यो । युवती लखडाउँदै एकातिर हुत्तिई एउटा अँध्यारो कुनामा पुग्न पाउँदा नपाउँदै कुनै होचो आकृति चलमलायो र सङ्गीनको टलक झिलिक्क भयो ।

“को हो ? कता हिँडेकी ?”

युवती टक्क रोकिएर हेर्न लागी । कुन हातमा कुन प्रवेशपत्र थियो भन्ने पनि उसले भुसुक्क बिर्सिहाली । एक छिनसम्म यस्तो अन्कनाहट रह्यो । बन्दूकको नाल उसको छातीनेर तेर्सिसकेको थियो ।

के भएको यस्तो ? युवतीले दाहिने हात पसार्नै आँटिसकेकी थिई, तर किन हो कुन्नि झट्पट् उसले थर्कमान हुँदै देब्रे हात पसारी र मुठी खोली ।

उसको हत्केलमा युन्केरहरुको निस्सा थियो ।

होचो आकृतिले बन्दूक काँधमा भिर्यो र भद्दा ढंगले परिचयपत्र पल्टाउन थाल्यो । युवती थर्कमान भइरहेकी थिई र यस्तो मिहीन कम्पनको अनुभव पहिले उसले कहिल्यै पनि गरेकी थिइन । पछिल्तिर डढेलोको लप्काबाट चिटचिट गर्दै एक रास झिल्का उठ्यो र झिलमिल गर्दै त्यसले केही उज्यालो छ¥यो ।… खस्रो हत्केलामाथि युन्केरको प्रवेशपत्र देखियो….उल्टो परेको !

“एहे !…. पढ्न जान्दो रहेनछ !”

“लेऊ !”

युवतीले त्यो ठाँडो प्रवेशपत्र हातमा लिई ।

“कता जान लागेकी ?” –होचो आकृतिले पछ्याउँदै सोध्यो ।

“सोभियतको स्टाफमा !”

“गल्लीको बाटो जाऊ ! यताबाट त गोली लाग्नसक्छ !”

स्टाफ कार्यालयमा ध्यानपूर्वक युवतीको कुरा सुनियो । सूचना ज्यादै मूल्यवान् थियो । सबैले उससित नम्रतापूर्वक कुरा गरे, धेरै कुराहरु सोधे । क्षयरोगीको जस्तो अनुहार भएको छालाको कुर्ता लगाइराख्ने मान्छेले स्नेहपूर्वक मुस्कुराउँदै भन्यो, “धन्यवाद तपाईंलाई ! हेर्नोस्, भेद नखुलोस् !”

बिहानपख गोली चल्न छोडेपछि युवतीले फेरि आर्बाततिर प्रस्थान गरी । फौंजी अस्पतालमा त्यस इलाकामा घाइते हुन गएकाहरु धमाधम ल्याईंदै थिए ! स्मोलेन्स्की बजारतिरबाट गरिएको युन्केरहरुको हमला विफल तुल्याइएको थियो र उनीहरुले ठूलो क्षति सहनुपरेको थियो ।

रातभरि युवतीले घाइतेहरुलाई पट्टी बाँधी, औषधि खान दिई, मलमपट्टी मिलाइदिई । घाइतेहरु कृतज्ञतापूर्ण नजरले उसतर्फ हेर्नेगर्थे । उसको अनुहार स्याप्प सुकिसकेको थियो र ज्यादै थकित देखिन्थ्यो । बिहानै एकजना युन्केर अस्पतालमा पस्यो । उसले टोपी लगाएको थिएन र लुगा पनि मजदूरको लगाइराखेको थियो । ऊ ज्यादै हड्बडाइरहेको थियो र उसको अनुहार पनि विकृत थियो ।

युन्केर सोझै युवतीलाई झम्टन पुग्यो ।

“यी… यही हो… राँड !.. धोकेबाज !”

युवती दच्किई । उसको अनुहार तन्नाजस्तै फुस्रो भयो । अनि अचानक उसको मुहार तम्तमाएर रातो देखियो, रगत चुहिएलाजस्तै !

“तिमीहरु…. तिमीहरु मजदूरहरुको हत्या गर्छौं । मजदूरहरु असह्य जीवनबाट मुक्ति चाहन्छन् ।… म…. हतियार चलाउन मलाई आउँदैन ।…. यसरी नै म तिमीहरुलाई मार्छु ।…. ,” युवती चिच्याउँदै थिई ।

युवतीलाई सेतो भित्तानेर पुर्याइयो । ऊ पनि आनाकानी केही नगरेर त्यसै ठाउँमा लम्पसार परी, जहाँ गुलाफी रङ्गको कमीज लगाइराख्ने मजदूर पल्टिरहेको थियो । युवतीको मुटुमा दुई गोली घुसिसकेका थिए । उसलाई त्यहाँबाट नहटाउञ्जेलसम्म नै उसका कैला आँखाहरु अक्टोबर महिनाको कठोर र भयङ्कर आकाशतर्फ निर्मिमेष ताक्दै थिए ।

(Visited 152 times, 1 visits today)

टिप्पणी

comments