Main Menu

चिनियाँ कम्पनीको प्रस्तावको पर्खाइमा निगम

चीनसँग इन्धन खरिद प्रक्रिया पूरा

कार्तिक ३०, काठमाडौँ । नेपाल आयल निगमले चीनसँग कागजात तथा आवश्यक विवरण पेस गरी इन्धन खरिद पूर्वका सबै प्रक्रिया पूरा गरेको छ । अब चीनको प्रस्तावको पर्खाइमा रहेको निगमले जनाएको छ । कम्पनीको वासलातदेखि अन्य कागजात पेट्रो चाइना कम्पनी लिमिटेडेलाई पठाइसकेको निगमले जनाएको छ । ‘शनिबार सबै विवरणसहित कम्पनीको क्रेडिट कन्ट्रोलमा निगमको नाम दर्ता भइसकेको छ । अब उसको प्रस्तावको पर्खाइमा छौं,’ निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराइले भने, ‘हामीले निरन्तर फलोअप गरिरहेका छौं । सायद चाँडै प्रस्ताव आउला ।’ अब पेट्रो चाइनासँग निगम इन्धनको प्रकार, मूल्य र ढुवानीको बृहत् विषयमा छलफल गरी सम्झौता गर्ने पर्खाइमा रहेको उनले बताए ।

निगमले ढुवानी मूल्य, दूरी र चिनियाँ नाकासम्बन्धी सबै विवरण पठाएको छ । सम्भावित विकल्प र उपायबारे पनि प्रस्ताव गरेको जनाएको छ । ‘अब चिनियाँ कम्पनीको प्रतिक्रियापछि पेट्रोल, डिजेल र ग्यास के के, कति परिमाण, कुन नाका र कति मूल्यमा आयात गर्न सकिने भन्ने विषय निर्धारण हुने छ,’ उनले भने, ‘उसको प्रक्रिया आएलगत्तै सम्झौताको प्रक्रिया अघि बढ्छ ।’

पेट्रो चाइना र निगमका अधिकारी बीचको पटक पटकको कुराकानीअनुसार आवश्यक सबै विवरण पेस भइसकेको उनले बताए । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आयात कम भएपछि सरकारले चीनसँग व्यावसायिक सम्झौताको प्रक्रिया अघि बढाएको हो ।

भारतीय आयल निगमले सम्झौताअनुसार नेपाललाई इन्धन उपलब्ध नगराएपछि चीनबाट इन्धन किन्न समझदारीपत्र (एमओयू) मा दुई देशका कम्पनीबीच सम्झौता भइसकेको छ । सोही आधारमा अन्तिम सम्झौता हुने हो । इन्धन अभावमा दैनिक जनजीवन कष्टकर बन्दैगएपछि चीनले सुरुमा अनुदानको इन्धन उपलब्ध गराएको थियो । साथै व्यावसायिक रूपमा इन्धन आयातका लागि नेपाल र चीनबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । समझदारीपछिको सम्झौताका लागि आवश्यक पर्ने खरिद पूर्वका प्रक्रिया पूरा गरेको निगमले जनाएको हो ।

‘अब उताबाट हामीलाई प्रस्ताव गर्ने हो । हाम्रोतर्फका काम सकिसकेका हुन्,’ भट्टराईले भने । उनका अनुसार चीनले अनुदानका रूपमा उपलब्ध गराएको पेट्रोल आयातमा अन्तिम लट आउन बाँकी रहेको बताए । करिब ३ सय टन बाँकी छ । केही दिनभित्र आइपुग्ने छ,’ उनले भने ।

आइतबार ३ लाख ३२ हजार लिटर इन्धन वितरण

निगमले आइतबार एकै दिन तीन लाख ३२ हजार लिटर इन्धन वितरण गरेको छ । सुरक्षा निकाय तथा सरकारी पम्पमार्पmत पेट्रोल र डिजेल भने निजी पम्पबाट पनि वितरण गरिएको हो । निगमका अनुसार २ लाख ६० हजार लिटर डिजेल वितरण भएको हो ।

सुरक्षा निकाय र सरकारी पेट्रोल पम्पलाई ७२ हजार लिटर पेट्रोल वितरण भएको हो । निगमले यसअघि पत्रकार सम्मेलन गरी इन्धन मौज्दात नभएको भन्दै सर्वसाधारणलाई पम्प अगाडि लाइन नबस्न आह्वान गरेको थियो । तर उक्त अह्वान गरेकै भोलिपल्टबाट केही इन्धन वितरण भने गरिरहेको छ । आइतबार सबैभन्दा बढी नेपाली सेनाको रिपुमर्दिनी भद्रकाली, प्रहरी कल्यणकारी कोष, साझा सेवा पेट्रोल पम्पलाई पेट्रोल वितरण भएको छ । उक्त पम्पहरूले १२ हजार लिटरका दरले पेट्रोल वितरण गरेको निगमले जनाएको छ ।

डिजेल भने ५५ वटा सरकारी तथा निजी पम्पहरूलाई दिएर वितरण भएको हो । निगमका अनुसार दैनिक मागको झन्डै ५७ प्रतिशत डिजेल आइतबार मात्रै वितरण भएको हो । पेट्रोल भने २२ प्रतिशत आइतबार वितरण भएको छ । निमित्त नायब कार्यकारी निर्देशक भट्टराईका अनुसार सामान्य अवस्थामा डिजेलको दैनिक माग करिब ४ लाख ५० हजार लिटर छ । पेट्रोल भने करिब साढे तीन लाख लिटर दैनिक माग रहेको उनले बताए । ‘हिजोआजको माग दैनिक ५ लाखभन्दा बढी हुन आउँछ । ५ लाखका दरले ४÷५ दिन वितरण ग¥यो भने मात्रै सामान्य अवस्थामा आइपुगिन्छ,’ उनले भने ।

निगमले निजी सवारी साधनलाई पेट्रोल भने उपलब्ध गराएको छैन । भारतले अघोषित नाकाबन्दी गरेपछि फाट्टफुट्ट इन्धनका ट्यांकर भने भित्रिइरहेका छन् । भित्रिएको इन्धन पहुँचवालालाई मात्रै वितरण भयो भन्ने आरोप निगमलाई लाग्ने गरेको छ । ‘आएको इन्धन पनि सरकारले वितरण नगरेको देखियो । जताततै आएजति इन्धन नपाएको गुनासो छ । उद्योगी व्यवसायीले अति आवश्यक मात्रामा पनि पाएका छैनन्,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘भएको इन्धन सरकारले पारदर्शी ढंगले वितरण गर्नुपर्छ ।’

गुनासो आएका कारण अब निजीलाई इन्धन वितरण गर्दा सबैलाई पुग्ने गरी वितरण गरिने भट्टराईले बताए । ‘सवारी साधनको लट नम्बरअनुसार वितरण गर्दा तीन दिनमा पनि सबैलाई पुगेन । केही सर्वसाधारणले दुःख पाए,’ उनले भने, ‘अब सबैलाई पुग्ने मौज्दात बनाएर वितरण गर्ने हो । तर, कहिले गर्ने अहिले नै भन्न सकिन्न ।’ लगातार ४÷५ दिन लगाएर निजी सवारी साधनलाई वितरण गरिने उनले बताए । ‘त्यसका लागि कम्तीमा १२ लाख लिटर चाहिन्छ,’ उनले भने, ‘चीनबाट अनुदानका रूपमा ल्याइएको केही इन्धन अघिल्लो पटक चलाइसकेका छौं । केही आउन नै बाँकी छ ।’ चीनले अनुदान स्वरूप १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको छ । त्यसमध्ये अधिकांश पेट्रोल नेपाल भित्रिसकेको छ ।

तिहारअघि निगमले लट नम्बरअनुसार तीन दिन निजी सवारी साधनलाई ९ लाख लिटर पेट्रोल वितरण गरेको थियो । हाल निगमले डिजेल भने निजी तथा सार्वजनिक सवारी साधनलाई समय समयमा उपलब्ध गराइरहेको छ । नाकाबन्दीयता पेट्रोल भने दुईपटक मात्रै उपलब्ध गराएको छ ।

(Visited 178 times, 1 visits today)

टिप्पणी

comments