Main Menu

तेन्जिङ नोर्गे – कसरी पुगेका थिए उनी सगरमाथाको चुचुरोमा ? – भाग ३

(सर्वप्रथम विश्वको सर्वोच्च शिखर सगरमाथामा न्युजिल्याण्डका सर एडमण्ड हिलारीसँग नेपाली मान्छे तेन्जिङ नोर्गे शेर्पा पनि सँगै पुगेका थिए । तेन्जिङको त्यस सफलता सम्पूर्ण नेपालीहरुको गर्वको विषय रहँदै आएको छ । जसरी मे २९, १९५३ को दिन बिभिन्न अप्ठ्याराहरु र जोखिमहरु पार गरेर मात्र सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा हिलारी र तेन्जिङ पुगे, त्यसरी नै सगरमाथाको आरोहण गर्ने अवस्थासम्म आइपुग्न उनलाई जीवनका थुपै्र अप्ठ्यारा, जोखिम र मोडहरु पार गर्नुप¥यो । तेन्जिङको जीवन सगरमाथा चढ्नु जतिकै कठिन र रोमाञ्चक देखिन्छ । यसै सन्दर्भलाई लिई ‘नवयुवा मासिक’ को पूर्णङ्क ५९ मा प्रकाशित चन्द्र खाकी  राजेश कोइरालाद्वारा संयुक्त रुपमा रचित रचनाको अन्तिम भाग यहाँ प्रस्तुत गरिन्छ । पहिलो भागको लागि यहाँ क्लिक गर्नुहोस्, दोस्रो भागको लागि यहाँ क्लिक गर्नुहोस् । – सम्पादक)

tenzing-norgay-biography-part-3भावुक बनेका तेन्जिङले चुचुरोमा निलो कलम गाड्दा …

त्यसपछि तेन्जिङ र हिलारीले आफूले ल्याएका तथा नातेदारहरुले पठाएका प्रतिक चिन्हहरु त्यहाँ एउटा खाडल खनी राखे । त्यस क्षण विजयको खुसीले भावुक बनेका बौद्धमार्गी तेन्जिङको मनमा आफ्ना लुगा तथा उपकरणहरु नै छाड्ने भावुक विचार पनि पलायो तर त्यसो गर्न व्यवहारिक रुपमा सम्भव थिएन । त्यसैले उनले आफूसँग भएको केही विस्कुटहरु, केही चकलेटहरु तथा एउटा निलो कलम गाडे । यो निलो कलम उनलाई उनका आफ्नै कान्छी बहिनी निमाले सगरमाथाको शिखरमा चिनो छाड्न भनी दिएका थिए । वास्तवमा, त्यो कलम एउटा साधारण कलम थियो, तर ७ वटा भाषा बोल्न सक्ने, लेख्न पढ्न चाहिँ नजान्ने तेन्जिङको लागि भने त्यो कलम असाधारण थियो, किनभने, त्यो कलम उनकी प्रिय बहिनीको सबैभन्दा प्रिय कलम थियो । त्यो कलम तेन्जिङका परिवारको तर्फबाट सगरमाथामा चढाउन पठाइएको सबैभन्दा प्रिय र अनमोल उपहार थियो । आफूले सो कलम सगरमाथाको चुचुरोमा गाड्दा तेन्जिङले हिलारीलाई देखाए, हिलारीले पनि मुस्कुराएर उनको कुरा बुझेको संकेत गरे ।

चार वटा देशका झण्डाहरु फहराइए !

त्यसपछि उनले गोजीबाट डोरीमा टाँसिएका चारवटा झण्डाहरु निकाले । यी चारवटा झण्डाहरु बेलायत, नेपाल, भारत र न्यूजील्याण्डका थिए । उनले झण्डा टाँसिएका उक्त डोरीलाई हिँउमा गाड्ने औजार (Ice-axe) मा बाँधेर हावामा फहराए । उनले झण्डा फहराएको यो क्षणलाई हिलारीले तस्वीरमा कैद गरे । फर्कंदा उक्त औजार चाहिने भएकोले तेन्जिङले झण्डालाई आइस एक्सबाट झिकेर हिउँको ढिस्कोमा बाँधिदिए ।

सगरमाथको चुचुरोमा पुगेर यी कार्यहरु गर्दासम्म तेन्जिङ तिर्खाले व्याकुल बनिसकेका थिए । उनले आफूले बोकेको कागती–पानी खान खोजे तर सकेनन् । किनभने, सगरमाथाको चिसोले उनको पानीको बोतलको मुख नै जमिसकेको थियो । उनले तिर्खालाई बिर्सिदिएर केही विस्कुट खाए, केही विस्कुट हिलारीलाई पनि खान दिए ।

साथीलाई सम्झँदा …

सगरमाथाको चुचुरोमा आफूहरु उभिएको त्यस क्षणमा सहृदयी तेन्जिङले आफ्ना अनन्य मित्र रेमण्ड ल्यामबर्टलाई सम्झन पुगे । ठीक एक वर्ष अगाडि अर्थात् मे २८, १९५२ का दिन उनी र उनका स्वीस मित्र ल्यामबर्ट सगरमाथा चढ्ने अदम्य इच्छा र साहस बोकेर आउँदा प्रतिकूलताका कारण सरगमाथाभन्दा ७७८ फिट तलबाटै फर्कनु परेको थियो । अघिल्लो आरोहणको बेला ल्यामबर्टले तेन्जिङलाई चिनोस्वरुप रातो स्कार्फ दिएको घटना, ल्यामबर्ट र आफूले एउटै पालमा रात बिताएका क्षणहरु तेन्जिङका आँखा अगाडि चलचित्रका दृश्यहरुजस्तै आउन थाले । आफ्ना अनन्य मित्र ल्यामबर्टले दिएको रातो स्कार्फ तेन्जिङले दार्जिलिङदेखि नै आफूसँग नछुटाइकन सगरमाथाको चुचुरोसम्म आफूसँग लिएर आएका थिए । ‘अहिले सगरमाथा आरोहण गरेको बेला यदि ल्यामबर्ट पनि आफूसँग भएको भए कति जाति हुने थियो,’ तेन्जिङले यस्तो सोच्न पुगे ।

सगरमाथाको चुचुरोमा पुग्दा मौसमले पनि तेन्जिङ र हिलारीलाई साथ दिएका थिए । उनीहरुले सगरमाथा आरोहण गरेको त्यस क्षण सगरमाथाको मौसम शान्त र सफा थियो । शिखरमा करीब १५ मिनेट बिताएर तेन्जिङ एवं हिलारी फर्केका थिए ।

विश्व–नायक बन्न पुगेको तेन्जिङ

सगरमाथाको सफल आरोहणले अब तेन्जिङ विश्वका हिरो बन्न पुगे । उनले विश्व प्रसिद्धि कमाए, विश्वका धेरै मुलुक एवं नेताहरुबाट उनले विभिन्न सम्मानहरु प्राप्त गरे । बेलायतले उनलाई जर्ज क्रस (George Cross) ले सम्मानित गरियो, उनी नेपाल ताराबाट विभूषित भए । बेलायतका २ वटा सडकहरु उनकै नाममा नामाकरण गरिए ।

भारतका प्रधानमन्त्री नेहरु उनलाई भेट्न दार्जिलिङ नै आए । उनलाई विभिन्न मुलुकहरुबाट भ्रमणका निम्तोहरु प्राप्त भए । यस क्रममा सगरमाथाको सफल आरोहणपछि तेञ्जिङलाई बेलायत बोलाइयो । एडमन्ड हिलारीले एक अन्तर्वार्तामा भनेका छन्, “हामी त जान तयार भयौं । तर तेञ्जिङसँग पासपोर्ट थिएन ।” त्यसबेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले तेञ्जिङलाई पासपोर्ट दिए । यसमा नेहरूले नितान्त व्यक्तिगत चासो दिएको पाइन्छ । नेपाल सरकारले यसमा त्यति चासो दिएन, जति नेहरूले दिए । तेञ्जिङका संरक्षक बने नेहरू । नेहरूले तेञ्जिङलाई दार्जिलिङमा माउन्टेनरिङ स्कूल खोल्न र त्यसलाई चलाउन मद्दत गरे । पछि गएर तेञ्जिङले भारतीय नागरिकता पनि लिए ।

तेन्जिङलाई नेहरुको विशेष चासोमा खोलिएको भारतकै पहिलो पर्वतारोहण इन्स्टिच्यूट दार्जिलिङस्थित ‘हिमालय माउन्टेनियरिङ इन्स्टिच्यूट’को प्रथम फिल्ड डाइरेक्टरमा नियुक्त गरियो । त्यसबेला नेहरुले तेन्जिङलाई भनेको थिए, “अब तपाईंले हज्जारौं तेन्जिङहरुलाई जन्माउनुपर्छ ।’

उनी यस संस्थाको फिल्ड डाइरेक्टर पदमा २२ वर्षसम्म रहे । स्थानीय जनताहरुको सहयोगमा निर्माण गरिएको उनको विशाल घरलाई उनले आफ्नो पारिवारिक पृष्ठभूमि, जन्मथलोको नामको आधारमा नामाकरण गरे– घाङ ला । सगरमाथाको शिखर मात्र हैन, सम्मान, प्रसिद्धि र ख्यातिको चुचुरो नाघ्दा पनि तेन्जिङले आफ्नो जन्मस्थानलाई बिर्सेनन् ।

तेन्जिङका लागि सगरमाथा आरोहण जीवनको सबैभन्दा ठूलो धोको थियो । उनले सगरमाथा र त्यस वरिपरिका अन्य शिखरहरुलाई हिउँ र चट्टानको थुप्रोको रुपमा मात्र कहिल्यै हेरेनन् । उनी हिमशिखरहरुलाई जहिले पनि जीवन्त रुपमा लिने गर्थे । सगरमाथाको विजयपछि लेखिएको आफ्नो जीवनीमा एक ठाउँमा उनले भनेको छन्, “मैले मेरो जीवनमा प्रतिक्षा गरेका ती महान क्षणहरुमा पर्वत मेरा लागि हिउँ र चट्टानका बेजान थुप्रो हैन, बरु जीवन्त र मैत्रीपूर्ण रहे । वास्तवमा, सगरमाथा आमा पोथी थिइन् र वरिपरिका अन्य शिखरहरु उनका पखेटामुनि रहेका चल्लाहरु ।’

एक किलोमिटरभन्दा लामो शवयात्रा

चास्सचुस्स रक्सी खाइरहने र कमजोर स्वास्थ्य भएका तेञ्जिङ बिरामी भई सन् १९८५ मा दिल्ली अस्पताल भर्ना भएका थिए । मर्छुजस्तो लागेर होला उनले आफ्नो अनन्यमित्र हिलारीलाई भेट्ने इच्छा जाहेर गरे । उनी दिल्लीबाट दार्जिलिङ पुगे । हिलारीले भेट्न पाउनुभन्दा पहिले सन् १९८६ मे ९ मा तेञ्जिङको दार्जिलिङमा निधन भयो । सरल, पवित्र र निश्चछ स्वभाव भएका तेन्जिङ जनतामाझ कतिविधि लोकप्रिय थिए भने, उनको निधनमा निस्केको शवयात्रा एक किलोमिटरभन्दा लामो थियो !

(Visited 269 times, 1 visits today)

टिप्पणी

comments